02 November 2009

पढ़ाई मा कत्रो दिल चस्पी नेपाली हजूर बाबाको ५५ वर्षमा खुला विद्यालय हुँदै क्याम्पस

दमक, २०६६ कार्तिक १६ - ५५ बर्षीय दयाराम धिमालको दैनिकी बदलिएको छ । सधैका वर्षमा यो समयमा उनी बिहानैदेखि या धान काट्न खेतमा हुन्थे वा कसैकोमा झ्यालढोका बनाउँदै । यस वर्षका उनका बिहानी भने कापी- किताब बोकर क्याम्पस जानमा बित्ने गरेका छन् ।

यो बुढ्यौलीमा क्याम्पस पुर्‍याउन उनलाई खुला शिक्षा कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । ३८ वर्षअघि विद्यालय छोडेका धिमाल डेढ वर्षदेखि नियमित विद्यार्थी बनेर तन्नेरी जोवनमा फर्किएका छन् ।

आफूले आठ कक्षा छोडेर वैवाहिक बन्धनमा बाँधिएर जन्मिएका छोरो- छारीले पनि क्याम्पसका प्रारम्भिक कक्षा सकिसके । 'उस बेला पढ्न सकिएन, पछि पढ्न पाइएको थिएन,' हिमालय उच्च मावि, दमकको कक्षा ११ मा भेटिएका धिमालले भने, 'पछि खुला विद्यालय आएपछि पढ्ने धोको पूरा भयो ।'

धिमाल बिहान सवा छ बजेदेखि कक्षामा आउँछन् र करिब १० बजेसम्म पढ्नमै व्यस्त् हुन्छन् । त्यसपछि मात्र उनको सधैको दैनिकी सुरु हुन्छ । यस वर्षको एसएलसीमा सहभागी भएर सफल भएपछि उनको उच्च शिक्षाको बाटो खुलेको हो । नेपाली, समाजसास्त्र र जनसंख्या विषय लिएर पढिरहेका धिमाल आफ्नो पढाइ केवल समाजसेवाका लागि भएको बताउँछन् । 'पढेर जागिर खाउँला भन्ने होइन,' उनी भन्छन्, 'समाजसेवाका लागि पनि शैक्षिक योग्यता जरुरी रहेछ ।'

आठ कक्षा सकेर विद्यालय छाडेपछि उनी तत्कालीन नगर पञ्चायतको नगरसभासद पनि भएका थिए । १२ कक्षा सकियो भने त्यसभन्दा रामै्र स्थानमा पुगेर समाजसेवा गर्न सकिएला भन्ने आशा छ उनमा । आफूसँगै पढेका दौंतरी सरकारी नोकरी तथा अन्य उच्च स्थानमा पुगेर सफलता हासिल गरेको देखेपछि खिन्न भइरहेको बेला एसएलसी पास गर्ने मेसो पाएपछि पढ्न आएको उनले बताए । गत वर्ष खुला कक्षामा आउँदा विद्यालयको पोसाक लगाउनुपर्दैनथ्यो तर औपचारिक कक्षामा आउन थालेपछि त विद्यालयले तोकेको पोसाक लगाउनुपर्छ । दैनिक पोसाकमा टाइ पनि राखिएकाले उनलाई टाइ बाँध्ने समस्या बिहानैपिच्छे आउने गर्छ । टाइ यसै विद्यालयबाट १२ कक्षा सकेकी छोरी नेत्रकुमारीले लगाइदिन्छिन् ।

आठ कक्षामात्र पढे पनि धिमालले आफ्नो भाषा र संस्कृति जोगाउन योगदान दिएका छन् । उनले दुई वर्षअघि धिमाल जातिको लिपि धमलिपि निर्माण गरेको धिमाल युवा मञ्चका केन्द्रीय अध्यक्ष अजित धिमालले जानकारी दिए । सो लिपिलाई नै आधिकारिकता प्रदान गर्न उनले धिमाल जातीय विकास केन्द्रमा पेस गरेका छन् । उनको लिपिमाथि बहस र परिमार्जन भइरहेको केन्द्रले जनाएको छ ।

पढाइ छोडेर घर व्यवहार र मजदूरीतिर बरालिएको धिमालको जिन्दगी कोल्टे फेराउने कामचाहिं शिक्षा मन्त्रालयले सञ्चालन गरेको खुला विद्यालयले गरेको हो । प्रधानाअध्यपक बिदुर खतिवडाका अनुसार शिक्षा कार्यालयाले गत वर्ष पहिलोपटक हिउँ माविमा खुला विद्यालय सञ्चालन गरेको हो ।

No comments:

मन परे बाड्नु होस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More